काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। आयोगले शुक्रबार ती दल दर्ता भएको पुष्टि गर्दै चुनाव चिन्हसमेत उपलब्ध गराएको हो।

सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार, मंसिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फ भाग लिनका लागि आवेदन दिएका थिए। सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भए पनि केही दलले एकै चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएको हुँदा कुल ९३ वटा निर्वाचन चिन्ह कायम गरिएको छ।

advertisement

आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त समानुपातक मतको आधारमा दलहरूलाई क्रमसंख्या र निर्वाचन चिन्ह प्रदान गरेको छ। अन्य दलहरूलाई दर्ता प्रमाणको आधारमा चिन्ह दिइएको छ।

निर्वाचन चिन्हमध्ये पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौंमा हलो, छैटौंमा ढल्केको छाता, सातौंमा लाउडस्पिकर राखिएको छ। यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसिया जस्ता चिन्हहरू रहेका छन्।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले चकिया (जाँतो) चुनाव चिन्ह पाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले कोदालो, जबकि सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पाएका छन्।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com