काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि उचालेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले यो क्षण आफ्ना लागि सपना पूरा भएको जस्तै भएको प्रतिक्रिया दिएका छन्।

शनिबार कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले खराब सुरुवातबाट च्याम्पियन बन्दासम्मको यात्रा अविश्वसनीय रहेको बताए।

advertisement

फाइनल खेलको टर्निङ प्वाइन्ट बनेको आफ्नो ह्याट्रिक विकेटबारे बोल्दै रोहितले आश्चर्य व्यक्त गरे। ‘साच्चै भन्दा मैले ह्याट्रिक लिन्छु भनेर त सपनामा पनि सोचेको थिइनँ,’ रोहितले भने, ‘त्यतिबेला विपक्षीको इनिङ कोल्याप्स भइरहेको थियो, ह्याट्रिकले उनीहरूलाई थप दबाबमा पार्यो र आज मेरो लागि सबै कुरा मिल्यो।’

उनले सुदूरपश्चिमलाई ८५ रनमै रोक्न सकिएला भन्ने अपेक्षा नगरेको बताए। ‘हामीले १४० देखि १५० रनको टार्गेट सोचेका थियौँ, तर रुबेन, शेर मल्ल र अन्य बलरहरूको सामूहिक प्रयासले नसोचेको नतिजा आयो,’ उनले थपे।

लगातार दुई पटक एनपिएलको उपाधि जित्ने खेलाडी बनेका शेर मल्लको प्रशंसा गर्दै कप्तान पौडेलले उनलाई लुम्बिनीको ‘ट्रम्प कार्ड’ को संज्ञा दिए।

रोहितले ठट्यौली शैलीमा भने, ‘शेर मल्ल टप क्लास प्लेयर हुन्। हामीलाई जतिबेला विकेट चाहिएको थियो, उनले दिलाए। शेर मल्ल जहाँ जान्छन्, त्यहीँ ट्रफी जान्छ भन्ने थाहा पाएरै हामीले उनलाई अक्सनमा लिएका थियौँ।’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै कार जितेको प्रसंगमा रोहित निकै भावुक देखिए। उनले आफ्नो ध्यान कारमा भन्दा पनि ट्रफीमा केन्द्रित रहेको सुनाए।

‘इमानदारीपूर्वक भन्दा मैले कारको बारेमा सोचेकै थिइनँ, मेरो दिमागमा मात्र ट्रफी थियो,’ रोहितले भने, ‘तर आज आमा-बुवा, दाइ-भाउजू सबैजना मैदानमा हुनुहुन्छ। म उहाँहरूलाई कारमा राखेर घर लैजान चाहन्थेँ। मैले राम्रो खेल्दै गएँ, ट्रफी जितेपछि कार त आफैं पछिपछि आयो।’

रोहितले प्रतियोगिताभर आफ्नो ब्याटिङ प्रदर्शनबाट भने पूर्ण सन्तुष्ट नरहेको स्वीकारे। ‘मैले एउटा पनि अर्धशतक हान्न सकिनँ, व्यक्तिगत रूपमा सुधार गर्नुपर्ने ठाउँ छ,’ उनले भने, ‘तर टिमले जित्दा व्यक्तिगत प्रदर्शन ओझेलमा पर्दो रहेछ, म यसैमा खुसी छु।’

लिग चरणमा १ जित र ३ हारको अवस्थाबाट गुज्रिएर यहाँसम्म आइपुग्नु र ट्रफी जित्नु लुम्बिनीका लागि ठुलो उपलब्धि भएको उनको भनाइ थियो।

उनले जितको श्रेय विदेशी खेलाडीहरू, नेपाली युवा खेलाडीहरू र टिमको सामूहिक विश्वासलाई दिए।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com