काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महाधिवेशनमा नेतृत्व चयनका विषयमा सर्वसम्मति खोज्ने क्रममा ‘बुढो बाबु र डोको’को प्रसंग उल्लेख गर्दै आफ्नो धारणा राखेका छन्। पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार अध्यक्ष ओलीले सहमतिको आवश्यकता औंल्याउँदै उक्त उदाहरण प्रस्तुत गरेका हुन्, तर अपेक्षित सहमति भने जुट्न सकेन।
बस्नेतले बताएअनुसार अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले देश जटिल अवस्थामा रहेको, बाह्य शक्तिहरूको प्रभाव बढ्दै गएको र यस्तो समयमा पार्टी नेतृत्वमाथि आन्तरिक विरोध गर्नु उपयुक्त नहुने धारणा राखेका थिए।
ओलीले नेतृत्व परिवर्तनलाई लिएर दिइने गलत सन्देशबारे चेतावनी दिँदै पुरानो कथाको उदाहरण पेश गरेका थिए। अध्यक्ष हटाएर मात्र सर्वसम्मति हुन सक्छ भन्ने सोच गलत भएको उनको भनाइ थियो। उनले आफूलाई स्वीकार गरेर अघि बढ्ने हो भने संगठनात्मक सन्तुलनका लागि वरिष्ठ उपाध्यक्ष वा अन्य उपयुक्त संरचनाबारे छलफल गर्न आफू तयार रहेको स्पष्ट पारेका थिए। तर सो प्रस्तावलाई सबै पक्षले स्वीकार नगरेको बस्नेतले बताए।
बस्नेतका अनुसार अध्यक्ष ओलीले महाधिवेशनमा नेतृत्वको टिमसमेत प्रस्ताव गरिसकेका छन्। पार्टीभित्रको आम कार्यकर्ताको भावना ओलीलाई नै पुनः अध्यक्षको जिम्मेवारी दिनुपर्ने पक्षमा रहेको उनले दाबी गरे। प्रतिनिधिहरूमध्ये ठूलो बहुमत ओलीको समर्थनमा रहेको भन्दै पार्टी नेतृत्व निरन्तरताको पक्षमा रहेको सन्देश महाधिवेशन हलमा देखिएको बस्नेतले बताएका छन्।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












प्रतिक्रिया