काठमाडौं। सरकारसँग वार्ता गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
सो महाभियानले सरकारसँग छलफल गर्नुपर्ने मुद्दा र मागहरु प्रस्तुत गर्न सोमबार विज्ञप्तिमार्फत वार्ता टोली गठन भएको जानकारी दिएको हो। यसअघि सरकारले आन्तरिक सहजीकरण तथा समस्या समाधानको लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा समिति गठन गरेको थियो।
महाभियानको टोलीको संयोजकमा केन्द्रीय सचिव प्रेमदीप लिम्बू चयन भएका छन् भने सदस्यहरूमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापा मगर रहेका छन्। विज्ञप्तिमा भनिएको छ, “आइतबार सरकारले आगामी २ पुसमा वार्ता गर्ने निर्णय गरेको छ। हामीले पनि छलफलका लागि टोलीको नाम टुङ्ग्याएर पठाएका छौँ।”
महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग, रोजगार सिर्जना लगायतका विषय समेटिएका २७ बुँदे प्रस्ताव सरकारले ध्यान दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको थियो।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया