काठमाडौं । हेटौँडा सडक विस्तारविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज पनि हुन सकेन। आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा परेको हो।
राजमार्ग क्षेत्रको २५–२५ मिटर सडक कायम गर्ने गरी गरिने सडक विस्तारको विरोधमा विन्दवासिनी कंसाकारसहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिटमा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको छ।
यसअघि मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। साथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको थियो।
त्यसैगरी मंसिर २६ गते तोकिएको पेसीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सम्बन्धित मुद्दाको मिसिल झिकाउने र छलफल गर्ने आदेश दिँदै पुस २ गतेका लागि पेसी तोकेको थियो।
पुस २ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दाको पेसी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार












प्रतिक्रिया