काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि विगतका सरकारले राजनीतिक प्रतिशोध साँध्यो भन्दै त्यसलाई सच्याउन वर्तमान सरकारसँग माग गरेको छ।

आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र रास्वपाका नेताहरूबीच भएको भेटवार्तापछि रास्वपा नेतृ सोबिता गौतमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त माग सार्वजनिक गरिन्। यद्यपि, उनले बैठकको मुख्य एजेन्डा निर्वाचन रहेको स्पष्ट पारिन्।

advertisement

गौतमले भनिन्, “विगतका सरकारले जुन राजनीतिक प्रतिशोध साँध्यो, त्यो कुन हदसम्म थियो भन्ने कुरा प्रष्ट हुनुपर्छ। प्रधानमन्त्रीदेखि क्याबिनेटका मन्त्रीहरूले नै प्रतिशोध भएको स्वीकार गर्नुभएको छ भने त्यसलाई करेक्सन गर्नुपर्छ। यदि प्रतिशोध भएको महसुस सरकारले नै गरेको हो भने त्यसलाई सच्याउने जिम्मेवारी पनि सरकारकै हो।”

उनले थपिन्, “हिजो सरकारको तर्फबाट आवश्यकभन्दा बढी पावर प्रयोग गरेर अधिक अभियोजन गरियो। पद र शक्तिको दुरुपयोग पनि भ्रष्टाचारकै एउटा रूप हो। त्यसैले सरकारको क्षेत्राधिकारभित्र पर्ने त्यस्ता निर्णयहरूलाई सच्याइदिनु हाम्रो माग हो।”

सहकारी ठगीसम्बन्धी मुद्दामा सभापति लामिछाने धरौटीमा रिहा भएपछि उनीसहित रास्वपाको टोली आइतबार राति प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो। रिहालगत्तै भएको भेटमा लामिछानेले निर्वाचनको विषयसँगै आफूविरुद्ध चलाइएको मुद्दाबारे पनि सरकारलाई अवगत गराएका थिए।

यसैबीच, रास्वपाका नेता शिशिर खनालले प्रधानमन्त्रीसँग निर्वाचनका विषयमा विस्तृत छलफल भएको जानकारी दिए। उनले पार्टी निर्वाचनका लागि तयार रहेको सन्देश सरकारलाई दिएको बताए।

“निर्वाचन हुनेमा विश्वस्त भएर हामी आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छौँ। सरकारको तयारी कस्तो छ ? फागुन २१ मा साँच्चिकै निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा आजको छलफल बढी केन्द्रित रह्यो,” बैठकपछि खनालले भने।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com