काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्था पुनःस्थापना हुन सक्ने सम्भावना औँल्याएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले उक्त धारणा सुन्दा आश्चर्य लागेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता ज्ञवालीले पूर्वराष्ट्रपतिले व्यक्त गरेको विचारले आफू स्वयं उभिएको राजनीतिक धरातलप्रति नै प्रश्न उठाएको बताए। उनले लेखेका छन्, पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनःस्थापना हुन सक्छ भन्नु उदेकलाग्दो छ। आफू उभिएको आधारप्रतिको विश्वास किन कमजोर भएको होला ?
पूर्वराष्ट्रपति भण्डारीले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आगामी राजनीतिक घटनाक्रमबारे चर्चा गर्दै नेपालमा जे पनि हुन सक्ने सम्भावना रहेको बताएकी थिइन्। सोही सन्दर्भमा उनले राजसंस्था पुनःस्थापनाको सम्भावना पनि नकार्न नसकिने अभिव्यक्ति दिएकी थिइन्।
नेता ज्ञवालीले उक्त अभिव्यक्तिले ‘आँखा बिझाएको’ टिप्पणी गर्दै एमालेको महाधिवेशनपछि भएको छुट्टै भेलालाई समेत त्यस्तै असहज र आलोचनायोग्य दृश्यका रूपमा व्याख्या गरेका छन्।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया