काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले देशको राजनीति पुराना दलको नियन्त्रणबाट मुक्त गर्न सबै वैकल्पिक शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। बर्दिया जिल्लामा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिहरूको मूलधारको पार्टीका रूपमा प्रस्तुत गरे।
पराजुलीले आगामी निर्वाचनमा परिवर्तनको प्रतीकका रूपमा चिनिएका बालेन साह, कुलमान घिसिङ र हर्क साम्पाङजस्ता व्यक्तित्वसँग सहकार्य गर्दै अघि बढ्ने रास्वपाको रणनीति रहेको बताए। साथै, पार्टी सभापति रवि लामिछाने कारागारबाट रिहा भएपछि पुराना राजनीतिक दलहरू असहज अवस्थामा पुगेको दाबी गर्दै उनले फागुन २१ मा तोकिएको निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाए।
उनले जेन–जी आन्दोलनले उठाएको भावना र जनचाहनालाई सम्बोधन गर्न ताजा जनादेश अपरिहार्य रहेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए। निर्वाचनबाट भाग्ने होइन, जनताकै मतबाट राजनीतिक निकास खोजिनुपर्छ, उनले भने।
कार्यक्रममा रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदीले आगामी निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी देशको प्रमुख शक्ति बन्नेमा आफूलाई पूर्ण विश्वास रहेको बताए। उनले नागरिकलाई परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्दै रास्वपा हिंसाको मार्ग होइन, मतक्रान्तिमार्फत सुशासन र समृद्धिको यात्रामा देशलाई अघि बढाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया