काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

advertisement

उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गरे । साथै उनले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गरेका छन्।

उनले भने,महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए । पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com