काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँग भएको १० बुँदे सम्झौताका पक्षधर जेन–जी नेताहरूबाटै निर्वाचन हुन नदिने अभिव्यक्ति आउनु गम्भीर विषय भएको भन्दै तोकिएको समयमा चुनाव हुने विषयमा आशंका व्यक्त गरेका छन्।
मंगलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयको निरीक्षण तथा वार्ताका लागि पुगेको सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलमा गुरुङले प्रधानमन्त्रीले ‘जेठो छोरो’ भनेर सम्बोधन गरेका जेन–जी पक्षकै अगुवाले चुनाव रोक्ने कुरा गर्नुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने बताए। प्रधानमन्त्रीले जेठो छोरो भन्नुभएको व्यक्तिले नै चुनाव हुन दिँदैनौँ भनेपछि आशंका त स्वाभाविक रूपमा बढ्छ, उनले भने।
गुरुङले जेन–जी अगुवा सुधन गुरुङले टेलिभिजन अन्तर्वार्तामा निर्वाचन हुन नदिने अभिव्यक्ति दिएको स्मरण गराउँदै यसले सरकार साँच्चिकै निर्वाचन गराउन प्रतिबद्ध छ कि छैन भन्ने प्रश्न उठाएको बताए। उनले फागुन २१ लाई लक्ष्य केन्द्रित (अर्जुनदृष्टि) बनाएर निर्वाचनको तयारी गर्नुपर्नेमा जोड दिए।
सबै राजनीतिक दल सहभागी हुने वातावरण नबनाई चुनाव सम्भव नहुने उनको भनाइ थियो। १० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी नसुक्दै चुनाव रोक्ने कुरा गरिरहेका छन्। सम्झौता यहाँहरूकै सामु च्यातिएको जस्तो देखिएको छ, गुरुङले भने, अब चुनाव हुन नदिने भनाइप्रति सरकार कति गम्भीर छ भन्ने कुरा हामी ध्यानपूर्वक हेरिरहेका छौँ।
निषेधको राजनीति र निषेधको मानसिकताबाट निर्वाचन हुन नसक्ने भन्दै उनले सरकार स्वच्छ, निष्पक्ष र भयरहित चुनाव गराउनतर्फ गम्भीर नदेखिएको आरोप लगाए। पुराना वा नयाँ पार्टीको नाममा कसैलाई रोक्ने प्रवृत्तिले लोकतान्त्रिक निर्वाचन सम्भव नहुने उनको धारणा थियो।
उपसभापति गुरुङले नेपाली कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पार्दै सरकारले अझैसम्म चुनावी वातावरण तयार गर्न नसकेको बताए। शान्ति सुरक्षा निर्वाचनको आधार भएको उल्लेख गर्दै उनले मतदाताले भयमुक्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था सरकारले सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया