काठमाडौं । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा मंगलबार बिहान उनको निधन भएको पार्टीका अध्यक्ष अनिलकुमार झाले जानकारी दिएका छन् ।
२०५४ सालमा नेपाल सद्भावना पार्टीमा आबद्ध भएदेखि मण्डल मधेस, मधेसी अधिकार र मधेसवादका पक्षमा निरन्तर सक्रिय रहँदै आएका थिए । यद्यपि, तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पार्टी परित्याग गरी सरकारमा सहभागी भएपछि उनी व्यापक आलोचनामा परेका थिए । राजाको शासन अन्त्यपछि उनी पुनः मधेसकै राजनीतिमा फर्किए पनि सक्रिय भूमिका भने देखिन सकेन ।
नेपाल सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको निधनपछि मण्डल पार्टी अध्यक्ष बनेका थिए । तर, राजविराजमा सम्पन्न चौथो महाधिवेशनमा उनलाई पार्टीबाट हटाउने प्रयास भएको थियो । भरतविमल यादव, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, रामेश्वर राय यादवलगायत नेताहरू त्यस अभियानमा संलग्न थिए । सत्ता निकटताका कारण ती प्रयास सफल हुन सकेनन् र अन्ततः पार्टी विभाजन भयो । त्यसपछि आनन्दी देवी सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गरिएको थियो ।
२०६१ सालमा मण्डलले राजा ज्ञानेन्द्र शाहको समर्थन गर्दै पार्टी अध्यक्षका रूपमा सक्रिय भूमिका खेलेका थिए । राजाको शासनकालमा उनी उपप्रधानमन्त्री तथा मन्त्रीसमेत बने । पार्टीभित्र ती निर्णयको चर्को विरोध भएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिँदै लक्ष्मणलाल कर्णलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका थिए ।
कार्यवाहक अध्यक्ष कर्णको पहलमा नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बीच एकीकरण भए पनि पार्टीभित्र विवाद भने निरन्तर रहिरह्यो । राजाको शासन अन्त्यपछि लामो समय निष्क्रिय रहेका मण्डल केही समय राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा पनि सहभागी भए । पछि सद्भावना पार्टी अन्य दलहरूसँग मिलेर राजपा नेपाल बनेपछि उनी पुनः राजनीतिक रूपमा निष्क्रिय भए ।
पछिल्लो समय रामकुमार महतोले नेपाल सद्भावना पार्टीलाई निर्वाचन आयोगमा पुनः दर्ता गराएर सक्रिय बनाएका थिए, जहाँ बद्री मण्डल सर्वमान्य नेताका रूपमा स्थापित थिए । हाल उनी पार्टीका वरिष्ठ नेता पदमा रहेका थिए ।
पार्टी अध्यक्ष अनिलकुमार झाले मण्डलको निधनले परिवारले अभिभावक गुमाएको अनुभूति गरेको बताउँदै मधेसवादी राजनीतिले अपूरणीय क्षति व्यहोर्नु परेको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया