काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउन संसदीय समिति गठन गर्ने भएको छ । कांग्रेस विधानको दफा ३१ को घ मा केन्द्रीय संसदीय समिति गठनको व्यवस्था छ । संसदीय समितिको सभापति पार्टी सभापति नै रहने व्यवस्था छ । विधानमा संसदीय समिति उल्लेख भएपनि कांग्रेसवृत्तमा यो समितिलाई संसदीय बोर्ड भन्ने प्रचलन छ ।
विधानमा संसदीय समिति गठन केन्द्रीय समितिले गर्ने उल्लेख भए पनि अहिलेलाई कार्यसम्पादन समितिमार्फत सभापति–कार्यबाहक सभापतिलाई समिति गठनको जिम्मेवारी दिने तयारी छ । ‘सभापति स्ल्यास कार्यवाहक सभापतिले सबैसँग परामर्श गरेर संसदीय समिति गठन गर्नेगरी कार्यसम्पादनले निर्णय लिनेछ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
उनले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबैसँग परामर्श गरेर छिट्टै संसदीय समिति बनाउने सहमति बनिसकेको छ । यसअघि कांग्रेसले उम्मेदवारको आधिकारिक पत्रमा सभापति देउवाको हस्ताक्षर हुने व्यवस्था गरिसकेको छ । खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपनि महत्वपूर्ण निर्णयमा देउवाको प्रभाव रहदै आएको छ ।
कांग्रेस विधानले सभापतिको नेतृत्वमा रहने केन्द्रीय संसदीय समितिमा सबै पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था गरेको छ । त्यसबाहेक केन्द्रीय सदस्यमध्येबाट समावेशी आधारमा बढीमा ११ जनालाई संसदीय समितिमा राख्न सकिन्छ ।
अघिल्लो निर्वाचनमा सभापति देउवाले आफू र पदाधिकारीबाहेक तत्कालीन नेता रामचन्द्र पौडेललाई मात्रै समितिमा राखेका थिए । यसपटक पदाधिकारीबाहेक डा।शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौंला, डा.शशांक कोइरालालाई समेत संसदीय समितिमा समेट्ने देउवाको तयारी छ ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार












प्रतिक्रिया