काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची तोकिएको समयभित्र बुझाउन नसकेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहानसम्म पनि सूची बुझाउन नसकिएको स्वीकार गरेका छन्।
मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र काम टुंग्याउँदैछौं।’
किन ढिलाइ भयो कांग्रेस?
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार)को समयसीमा तोकेको थियो। सोही अनुसार रातभर नामावली बुझाउने प्रक्रिया जारी थियो।
सुरुमा कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल नामावली लिएर निर्वाचन आयोग पुगेका थिए। मंगलबार बिहान करिब चार बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगे।
तर मुख्य सचिव पौडेल र परियारले बोकेको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीहरूले नामावली स्वीकार गरेनन्। त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र मीन विश्वकर्मालाई देउवा निवास, महाराजगञ्ज पठाएका थिए। महाराजगञ्ज पुगेका उनीहरू यो समाचार तयार पार्दासम्म आयोगको कार्यालय फर्किएका छैनन्।
मंगलबार बिहान पुनः प्रतिक्रिया दिँदै पौडेलले भने, ‘अहिले हामी निर्वाचन आयोगभन्दा बाहिर छौं, टुंग्याउने काम भइरहेको छ।’
यता, निर्वाचन आयोगका एक कर्मचारीका अनुसार कांग्रेसले यसअघि नै निवेदन दर्ता गराइसकेको र सनाखत प्रक्रिया पूरा भएकाले आज पनि बन्दसूची बुझाउन सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया