काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले गर्न सक्ने खर्चको सीमा निर्धारण गरिएको छ। निर्वाचन आयोगले जिल्लाको पहुँच अनुसार खर्चको सीमा फरक तय गरेको छ।
आयोगका अनुसार, काठमाडौँका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु. २५ लाखसम्म खर्च गर्न सक्नेछन्। यी क्षेत्रहरू हुन्: काठमाडौँ–१, ३, ६, ७ र ८। त्यसैगरी, १७ निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम रु. २७ लाख खर्च गर्न पाउनेछन्।
त्यस्तै, ६५ निर्वाचन क्षेत्रमा अधिकतम रु. २९ लाख, ५२ निर्वाचन क्षेत्रमा रु. ३१ लाख, र २६ निर्वाचन क्षेत्रमा रु. ३३ लाख खर्च गर्न सकिने सीमा तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उम्मेदवारले आफ्नो निर्वाचन खर्च गर्न छुट्टै बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ र त्यहाँबाट मात्र खर्च गर्न सकिनेछ। खर्च गर्ने जिम्मेवारी तोकिएको अधिकारीको नाम र विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ।
निर्वाचन खर्च तोकिएको सीमा भित्र रहेर गर्नु पर्नेछ र प्रतिनिधिसभा सदस्य ऐनअनुसार, निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गर्न आवश्यक हुनेछ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया