काठमडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार पूर्ण रूपमा सक्रिय रहेको बताएका छन् ।
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढिसकेको उल्लेख गरे । उनका अनुसार निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली पनि निर्वाचन आयोगमा पेश भइसकेको छ, जसले चुनावी माहोल बन्दै गएको संकेत गर्छ ।
गृहमन्त्री अर्यालले सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको स्पष्ट पारे । “सरकार सत्तामा टिकिरहने सोचमा छैन, उनले भने, “निर्वाचनमार्फत निर्वाचित नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।
जेन–जी जनआन्दोलनपछि सिर्जित असहज अवस्थालाई सामान्यीकरण गर्न र जनतालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको दाबी गर्दै उनले मुलुकलाई थप अस्थिरताबाट जोगाउन आवधिक निर्वाचन अपरिहार्य रहेको बताए ।
सुशासन चाहने हो भने नियमित निर्वाचनको विकल्प हुँदैन,” उनले जोड दिए, “ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ देशको नेतृत्व गर्न सक्छ ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार











प्रतिक्रिया