काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेजहरूलाई लक्षित गर्दै १० बुँदे कडा निर्देशन जारी गरेका छन्। केही कलेजहरूले प्रचलित निर्देशिका उल्लङ्घन गर्दै विद्यार्थीलाई अपेक्षित गुणस्तरीय सेवा नदिएको गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
मन्त्री पुनका अनुसार पुस १४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी निर्देशनमा विदेशी सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०५९ को पूर्ण रूपमा पालना गर्न कलेजहरूलाई अनिवार्य गरिएको छ। साथै हालसम्म व्यवस्था गरिएको डिसिप्लिन इन्चार्ज (डीआई) प्रणाली तत्काल खारेज गरी विद्यार्थी परामर्श कक्ष स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ।
निर्देशनका प्रमुख बुँदाहरू:
-
कलेजले लिने सम्पूर्ण शुल्कको विवरण स्पष्ट र पारदर्शी रूपमा सार्वजनिक स्थानमा डिस्प्ले गरी १५ दिनभित्र मन्त्रालयमा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने।
-
कक्षा सञ्चालन तालिका, विद्यार्थी संख्या तथा दैनिक सिकाइ–पठनपाठनसम्बन्धी गतिविधि सार्वजनिक गर्नुपर्ने।
-
अनुमति प्राप्त कार्यक्रम र स्वीकृत स्थानमै मात्र शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने।
-
कलेजको वेबसाइट तथा अन्य माध्यमबाट अन्य कलेजका कार्यक्रमको प्रचार–प्रसार नगर्नुपर्ने।
-
छात्रवृत्ति पारदर्शी ढंगले वितरण गरी त्यसको विवरण मन्त्रालयमा पेस गर्नुपर्ने।
-
योग्यता पुगेका शिक्षक–प्राध्यापकबाट मात्र अध्यापन गराउनुपर्ने।
-
कलेज परिसरमा गुनासो तथा सुझाव पेटिका राखी प्राप्त गुनासोको नियमित सम्बोधन गर्नुपर्ने।
निर्देशनमा तोकिएको निर्देशिका र कवुलियतनामाका सर्त उल्लङ्घन गरेमा सम्बन्धित कलेजको अनुमति जुनसुकै समयमा रद्द गर्न सकिने चेतावनीसमेत शिक्षा मन्त्रालयले दिएको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया