काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान तरल राजनीतिक परिस्थितिमा अग्रगामी राजनीतिक शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता अपरिहार्य बनेको बताएका छन् ।
सन् २०२६ को शुभारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले राजनीतिक अस्थिरता र चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई सुरक्षित निकास दिन साझा दृष्टिकोण र सहकार्य आवश्यक रहेको उल्लेख गरेका हुन् ।
उनले हजारौँ सहिद, बेपत्ता, घाइते तथा अपांग योद्धाहरूको त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नेपाललाई अझ समावेशी, उन्नत र समृद्ध राष्ट्र बनाउने दिशामा अघि बढ्न सबैमा अपिल गरेका छन् । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादतर्फको यात्रालाई सुदृढ बनाउनु आजको दायित्व भएको उनको भनाइ छ ।
शुभकामना सन्देशमा प्रचण्डले सन् २०२५ मा देखिएको ‘जेनजी’ युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ संकेत दिएको उल्लेख गरेका छन् । उक्त आन्दोलनले पुराना राजनीतिक संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधार आवश्यक रहेको स्पष्ट पारेको उनको धारणा छ ।
उनले संविधान निर्माणका क्रममा तत्कालीन शक्ति सन्तुलनका कारण अघि बढाउन नसकिएका आफ्ना केही एजेन्डाहरूको औचित्य पछिल्ला घटनाक्रमले पुष्टि गरेको दाबी पनि गरेका छन् ।
प्रचण्डले वर्तमान संकटको सकारात्मक समाधानका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्नु सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया