काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको समानुपातिक बन्दसूचीमा समावेश केही उम्मेदवारलाई आफूले नाम फिर्ता लिन आग्रह गरेको बताएका छन् । बन्दसूची चयन प्रक्रियालाई लिएर पार्टीभित्र र बाहिर विवाद चर्किएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन गरेको भए पनि त्यसको नतिजा बन्दसूचीमा पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै असन्तुष्टि देखिएको छ । पार्टीका जिम्मेवार नेताहरूले समेत सार्वजनिक रूपमा प्रश्न उठाएपछि सभापति लामिछानेले प्राइमरी इलेक्सन मात्र अन्तिम आधार नहुने स्पष्ट पारेका छन् ।

advertisement

उनका अनुसार पार्टीले तय गरेको विधिअनुसार प्राइमरी इलेक्सनको मतभार ५० प्रतिशत मात्रै हुन्छ भने बाँकी ५० प्रतिशत आकांक्षीको अनुभव, योगदान, क्षमता र अन्य मापदण्डको मूल्यांकनका आधारमा निर्धारण गरिन्छ । प्राइमरी जित्दैमा बन्दसूचीमा पर्छ भन्ने होइन, उनले स्पष्ट गरे ।

यद्यपि, बन्दसूची तयार पार्ने क्रममा केही कमजोरी देखिएको स्वीकार गर्दै लामिछानेले समयमै सुधार गरिने बताए । “हामीसँग संशोधन गर्ने पर्याप्त समय छ । बाहिर आएका विषयभन्दा धेरै समस्या हामी आफैंले पहिचान गरिसकेका छौँ र त्यसलाई सुधार गरिन्छ, उनले भने ।

लामिछानेले पार्टीका केही नेताहरूलाई बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सुझाव दिइसकेको दाबी पनि गरे । “मैले प्रत्यक्षतर्फ लड्न जानुस् भनेर भनेको छु । आवश्यक परे निर्देशन नै दिन्छु, उनले भने ।

पार्टीभित्र एकता कायम भइसकेको उल्लेख गर्दै उनले विधि र प्रक्रियाबाहिर गएर कसैलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । अब हामी एउटै पार्टी हौँ । सबै निर्णय विधि र प्रक्रियाअनुसार नै हुन्छन्, लामिछानेले जोड दिए ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com