काठमाडौं । राजधानीको बालुवाटार क्षेत्रमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको घटनामा संलग्न एक युवक पक्राउ परेका छन्।
चोरीको आरोपमा दाङ घर भएका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार केसी दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरीका स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको खुर्सानीटारमा बस्दै आएका थिए। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरसँगको समन्वयमा दाङबाट पक्राउ गरी काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
अनुसन्धानका क्रममा केसीले पुस १२ गते राति बालुवाटारस्थित स्टोर्म नेटवर्क प्रालि र इको भ्याली प्रालि मा चोरी गरेको खुलेको छ। स्टोर्म नेटवर्कबाट ४८ लाख ७२ हजार ६२० रुपैयाँ बराबरको नगद तथा सरसामान र इको भ्यालीबाट ८ लाख ५८ हजार ५४१ रुपैयाँ बराबरको नगद र गरगहना चोरी भएको प्रहरीको भनाइ छ।
प्रहरीले केसीको साथबाट १५ थान चाँदीका ब्रासलेट, २८ थान चाँदीका सिक्का, एक थान चाँदीको धातु तथा डेल कम्पनीको ल्यापटप बरामद गरेको छ। साथै, उनीसँगै ३४ हजार ५३० रुपैयाँ नगद र घरबाट थप ६४ लाख ८२ हजार ६१० रुपैयाँ नगद फेला परेको एसपी पवन भट्टराईले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया