काठमाडौ । एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधित्व देखिएको छ।
पार्टीको केन्द्रीय कमिटीमै पनि झापाका प्रतिनिधि संख्या धेरै छ। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा रहेका छन्। ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट मात्रै आयोग सदस्यसहित १४ जनाको प्रतिनिधित्व रहेको छ।
गत पुस १४ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीअनुसार झापाबाट ९ जनाको नाम समावेश गरिएको छ। सूचीमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो रहेका छन्।
झापापछि काठमाडौंबाट ७ जनाको प्रतिनिधित्व छ। काठमाडौंबाट लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडे सूचीमा समावेश छन्।
धनुषाबाट पनि ७ जनाकै प्रतिनिधित्व छ। धनुषाबाट उर्मिला देवी पासवान, यशोदा कुमारी यादव, मन्जु महतो, रेणु साह, अरविन्द साह, राम चरित्र साह र चन्द्रेश्वर यादवको नाम सूचीमा राखिएको छ।
पाल्पाबाट ४ जना—हीरासरा राना, ओमबहादुर घर्ती, थानेश्वरप्रसाद बस्याल र रोजी खातुन—सूचीमा छन्। कैलालीबाट ४ जना लीलाकुमारी भण्डारी, हरिशंकर योगी, इच्छा कुमारी चौधरी र सावित्रा घिमिरे तथा चितवनबाट ४ जना रामबहादुर थापा मगर, सन्तबहादुर प्रजा, प्रभा बराल र यमबहादुर परियारको प्रतिनिधित्व छ।
धादिङबाट ३ जना गंगादेवी श्रेष्ठ, क्रान्ति बुर्लाकोटी र डा. पुष्प कँडेल सूचीमा छन्। काभ्रेपलाञ्चोकबाट भक्तकुमारी लामा, सुमित्रा राजवंशी र इन्द्रबहादुर तामाङ गरी ३ जनाको प्रतिनिधित्व छ। यस्तै महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट कोमल वली, शान्ता चौधरी र साजिदा सिद्दिकी गरी ३ जना सूचीमा परेका छन्।
सिराहाबाट आशाकुमारी यादव, चन्द्रेश्वर मण्डल र राजेश अग्रवाल गरी ३ जनाको नाम समावेश छ। रौतहटबाट रअन्शु सिंह, बबिता दास कर्ण र सच्चितानन्द साह गरी ३ जनाको प्रतिनिधित्व छ।
ललितपुर, मोरङ, उदयपुर, लमजुङ, कास्की, स्याङ्जा, कञ्चनपुर, कालिकोट, पर्वत, बाँके, कपिलवस्तु, बारा, सर्लाही, अछाम र बझाङबाट दुई–दुई जनाको प्रतिनिधित्व देखिएको छ। पाँचथर, इलाम, खोटाङ, सुनसरी, म्याग्दी, धनकुटा, मुस्ताङसहित ३० जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व रहेको छ।
निर्वाचन आयोगमा बुझाइएको सूचीअनुसार कुल ५६ जिल्लाबाट प्रतिनिधित्व देखिएको छ भने २१ जिल्लाबाट कुनै पनि उम्मेदवार समावेश छैनन्। प्रतिनिधित्व शून्य रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, गोरखा, मनाङ, बागलुङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, जुम्ला, बाजुरा, डोटी, डडेल्धुरा र बैतडी रहेका छन्।
यद्यपि सूचीमा समावेश मिना बरामुले भने गोरखाबाट प्रतिनिधित्व गर्ने उल्लेख छ। उनी ११औँ महाधिवेशनमा गोरखाबाट प्रतिनिधि निर्वाचित भएकी थिइन्। यसअघि उनी आरूघाट गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवारसमेत रहेकी थिइन्।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया