काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशभर विभिन्न शक्तिपीठमा पूजा–आराधना गरिने परम्परा छ। सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ। आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचन सुरु गरेका छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ। पौष शुक्ल चतुर्दशीका दिन नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारण गर्दै व्रतको सुरुआत गरिन्छ। बिहान माघ स्नान, मध्याह्नमा पार्वतीसहित महादेवको पूजा तथा बेलुकी स्कन्द पुराणअन्तर्गतको स्वस्थानी व्रत कथा वाचन गर्ने परम्परा छ। कुल परम्पराअनुसार कतिपयले बिहान र कतिपयले बेलुकी कथा वाचन गर्ने गर्दछन्।
एक महिना विधिपूर्वक व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्यसहित भगवतीलाई अर्घ्य अर्पण गरिन्छ। व्रतको प्रसादबाट आठ–आठ अंश पति, छोरा वा मीत छोरालाई दिइने र कोही नभए नजिकको पवित्र नदीमा बगाइने विधि रहेको छ।
व्रत अवधिमा सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने चलन छ। यस क्रममा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। ‘स्वस्थानी’ शब्दले आफू बसेको स्थानकी देवी भन्ने अर्थ दिन्छ।
उत्तरायणपछिको समय ध्यान र साधनाका लागि उपयुक्त मानिने भएकाले आफ्नो आत्मासँग सम्पर्क गर्ने अभ्यासलाई पनि स्वस्थानीसँग जोडेर व्याख्या गरिन्छ। स्कन्द पुराणअनुसार स्वस्थानी देवी सुनौलो वर्ण, त्रिनेत्रधारी, चार हात भएकी र कमल तथा सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो।
धार्मिक विश्वासअनुसार स्वस्थानी व्रतले बिछोड भएका दम्पतीको पुनर्मिलन, रोग निवारण तथा इच्छित वर–वधू प्राप्त हुने विश्वास छ। सत्य युगमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको कथा पनि स्वस्थानीमा उल्लेख छ।
यसै अवसरमा आजदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगस्थित साँखुको शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला सुरु हुँदैछ। माघ महिनामा यहाँ स्नान गरी माधवनारायणको दर्शन गरे पाप नाश भई पुण्य प्राप्त हुने विश्वासका कारण प्रत्येक वर्ष लाखौँ भक्तजन सहभागी हुने इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो।
शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको माधवनारायण मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। शालिनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार












प्रतिक्रिया