काठमाडौँ । आगामी निर्वाचनअघि जेनजी आन्दोलनले उठाएका एजेन्डालाई राजनीतिक दलहरूको साझा प्रतिबद्धतामा रूपान्तरण गर्नुपर्ने मागसहित जेनजी प्रतिनिधिहरूले विभिन्न दलका नेताहरूसँग संवाद सुरु गरेका छन्।
यसैक्रममा शुक्रबार जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेटघाट गरेका छन्।
करिब डेढ घण्टा चलेको उक्त भेटमा जेनजी प्रतिनिधिहरूले सरकारसँग भएको सम्झौता, नागरिक समाजको समर्थन तथा आन्दोलनबाट प्राप्त जनम्यान्डेटबारे थापाको ध्यानाकर्षण गराएका थिए। भेटमा सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता आन्दोलनका प्रमुख मुद्दालाई दलहरूले कसरी आत्मसात गर्छन् भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको जेनजी प्रतिनिधिहरूले बताएका छन्।
‘हामीले उठाएका मुद्दा कुनै व्यक्ति वा समूहका मात्र होइनन्, यो सडकबाट आएको जनम्यान्डेट हो,’ जेनजी प्रतिनिधि रक्षा बमले भनिन्। ‘जसले जिते पनि वा हारे पनि अन्ततः देशले जित्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। यही मर्म बुझाउन निर्वाचनअघि सबै दलसँग संवाद सुरु गरेका हौं।’
उनका अनुसार भेटमा दलहरूले पार्टीभित्र भ्रष्टाचारविरुद्ध कसरी काम गरिरहेका छन् भन्ने विषयमा पनि प्रश्न उठाइएको थियो।
जवाफमा कांग्रेस महामन्त्री थापाले आन्दोलनका मागलाई सकारात्मक रूपमा लिँदै यसलाई आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए। भदौ २३ र २४ का घटनामा दलहरूको कमजोरी स्वीकार गर्दै ती कमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनले बताएका थिए।
‘आन्दोलनबाट आएको यो म्यान्डेट खेर जान दिनु हुँदैन। यसलाई अपराधीकरण गर्नेभन्दा पनि दलहरूले बुझेर स्पष्ट मार्गचित्रका साथ अघि बढ्नुपर्छ,’ भेटमा थापाले व्यक्त गरेको भनाइ उद्धृत गर्दै अर्का जेनजी प्रतिनिधिले बताए।
जेनजी प्रतिनिधिहरूले छिट्टै नै अन्तर–दल संवाद (इन्टर पार्टी डायलग) आयोजना गर्ने र त्यसमा नागरिक समाजका प्रतिनिधिहरूलाई समेत सहभागी गराउने योजना बनाएको बताएका छन्। साथै आगामी निर्वाचनमा आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थायित्वका मुद्दा ओझेलमा नपरोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित अन्य दलहरूसँग पनि संवाद अघि बढाइने उनीहरूको भनाइ छ।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया