काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारे काठमाडौंमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत महत्वपूर्ण नेताहरूसँग अन्तरक्रिया गर्दै सुझाव संकलन गरेका छन्।
बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा वर्तमान विषम परिस्थितिको निकास, राष्ट्रमा देखिएको संकटको समाधान तथा पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी गराउने भन्ने विषयमा विस्तृत बहस भएको डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हालैको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको प्रस्तावलाई कसरी समन्वय गर्ने, साथै आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने उपायबारे पनि गहन विचार–विमर्श भएको जनाइएको छ। पार्टीभित्र देखिएका दुवै धारलाई एक सूत्रमा बाँध्ने उपाय खोज्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
त्यसैगरी, पार्टीको अनुशासन समितिले हालै गरेका कारबाही फुकुवा गरी सम्बन्धित व्यक्ति जुन–जुन पदमा थिए, उनीहरूलाई त्यही पदमा कायम गर्नुपर्ने माग पनि उठाइएको छ। आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग र आवश्यकता भएकोमा उपस्थित नेताहरू एकमत देखिएका छन्।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया