काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा सर्वदलीय सरकार बन्न सम्भावना नरहेको बताएका छन्।
प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताएका हुन्।
जेनजी युवा पुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे।
निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनको भनाइ थियो।
काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए।
‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ,’ उनले भने।
जेनजी आन्दोलनको मर्मअनुसार अहिलेका राजनीतिक दलहरुले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उनको भनाइ थियो।
- रासस
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया