एजेन्सी । भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।
आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।’
त्यस्तै, ट्रम्पले फक्स न्यूज टिभीमा बोल्दै राष्ट्रपति मादुरोलाई एक हप्ता अघि ‘आत्मसमर्पण’ गर्न भनिएको समेत बताएका छन् । ट्रम्पले मादुरोसँग आफूले कुरा गरेको बताउँदै त्यसबेला उनलाई ‘तपाईंले हार मान्नुपर्नेछ, तपाईंले आत्मसमर्पण गर्नुपर्नेछ’ भनेर सम्झाएको समेत बताएका छन् ।
उनले भेनेजुएलामा भएको आक्रमणमा अमेरिकी पक्षका केही व्यक्तिहरू घाइते भएको पनि बताए, तर कसैको मृत्यु नभएको दाबी गरेका छन् । ट्रम्पले भने, ‘हामी चार दिन अघि यो (आक्रमण) सुरु गर्ने थियौं, तर मौसम राम्रो थिएन। अचानक, मौसम सफा भयो, र हामीले आक्रमण सुरु गर्यौं।’
उनले मादुरोलाई पक्राउ गर्दाको स्मरण समेत गरे । ‘घर भन्दा किल्ला जस्तै’ र ‘भारी स्टिलले घेरिएको’ घरबाट उनलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् ।
ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया