काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले पार्टी विभाजन हुने संकेत नरहेको स्पष्ट पारेका छन्। काठमाडौंमा पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्मा दाबी गरे, “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन। यदि विभाजन हुने स्थिति आयो भने सबैभन्दा पहिले म हलबाट बाहिरिनेछु।”
विशेष महाधिवेशनको आयोजना दोस्रो पटक पत्रकार सम्मेलनमार्फत आह्वान भइसकेको छ। महामन्त्री शर्मा र गगन थापासहित उनका केही नेताहरूले महाधिवेशन अनिवार्य भएको तर्क राखेका छन् भने सभापति शेरबहादुर देउवा पक्ष यसविरुद्ध देखिएको छ।
महामन्त्री शर्माले विशेष महाधिवेशन गर्नुपर्ने कारणमा बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको जिम्मेवारीलाई प्रमुखताका साथ अघि सारेका छन्। उनका अनुसार “आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,” र नयाँ दृष्टि, योजना र संकल्पका लागि यो महाधिवेशन आवश्यक छ।
कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानमार्फत विशेष महाधिवेशनको माग उठाएका थिए। त्यस अभियानमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका थिए, जसअनुसार कांग्रेस विधानको धारा १७(२) अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउन आवश्यक छ। शर्मा स्पष्ट पार्छन् कि हस्ताक्षर नगरेका प्रतिनिधिहरू पनि महाधिवेशनमा सहभागी हुन सक्नेछन्।
महाधिवेशनले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा असर नपार्ने उनको विश्वास छ। शर्मा भन्छन्, “मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिनेछ।” उनले विशेष महाधिवेशनलाई “बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” भएको संकल्पका रूपमा लिन सबैमा अपिल गरेका छन्।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया