काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णयअनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहीद परिवारका सदस्यहरूलाई रोजगारी दिने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री तथा प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो।
जेनजी शहीद परिवारका २७ जनाले रोजगारीका लागि आवेदन दिएका थिए। आवेदनकर्ताको योग्यताको आधारमा प्राधिकरणको कार्यालयले बढीमा तीन तहसम्मको पदमा करार नियुक्ति गर्ने निर्णय गरिएको छ।
घिसिङका अनुसार, यो निर्णय सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच भएको सम्झौता तथा मन्त्रिपरिषद् द्वारा स्वीकृत सहायता सम्बन्धी कार्यविधि अनुसार, शहीद परिवारका सदस्यका निवेदनको आधारमा गरिएको हो।
कार्यविधिमा उल्लेख भए अनुसार, जेनजी प्रदर्शनमा घाइते वा अपाङ्ग भएका व्यक्ति, नजिकको परिवारका सदस्य वा शहीद परिवारका सदस्यलाई प्रचलित कानून अनुसार शिक्षा र रोजगारीमा आवश्यक व्यवस्था गरिने व्यवस्था छ। शिक्षा मन्त्रालयमार्फत निःशुल्क शिक्षा उपलब्ध गराइनेछ भने रोजगारी सम्बन्धी व्यवस्थाहरू सम्बन्धित मन्त्रालयहरूले समन्वय गर्दै लागू गर्नेछन्।
आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया