काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
छेडागाड नगरपालिका–९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिपको ब्रेक फेल भएपछि करिब १५० मिटर तल सडकबाट खस्दा दुर्घटना भएको हो। जिपमा चालकसहित ६ जना सवार थिए।
दुर्घटनामा परी छेडागाड–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ।
घाइते हुनेमा जिप चालक २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत रहेका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ।
प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार













प्रतिक्रिया