काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्। शनिबार राजधानीमा आयोजित स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा मा सम्बोधन गर्दै उनले फागुन २१ मा निर्वाचन अनिवार्य रुपमा सम्पन्न हुनुपर्ने बताए।
उनका अनुसार हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि अहिले संकटमा रहेको छ र मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव छ। पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्वमाथि खतरा पुर्याउने प्रवृत्तिविरुद्ध देशभक्त तथा राष्ट्रिय अस्मिता र अखण्डताको पक्षधरबीच एकता र सहकार्य आवश्यक रहेको पनि औंल्याए।
उनले भने, ‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ। यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ। अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय एकता आवश्यक छ।’
पूर्वअर्थमन्त्री पुनले मुलुकको राजनीतिलाई अत्यन्तै अस्थिर र तरल अवस्था भएको उल्लेख गर्दै यसमा स्थिरता कहिले र कसरी आउने भन्ने अनुमान गर्न कठिन रहेको बताए। उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चित वातावरण छ। कहाँ पुगेर स्थिरता प्राप्त हुन्छ भन्ने भन्न गाह्रो छ।’
अर्थतन्त्रसँग सम्बन्धित चुनौतीबारे पनि उनले चिंता व्यक्त गरे। ०७२ को महाभूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तङ्ग्रिन खोजिरहेको बेला भदौ २३–२४ को जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल घटाएको पुनले बताए। उनले भने, ‘भूकम्प र कोभिड–१९ बाट अर्थतन्त्र तँग्रिन खोजिरहेको थियो, तर भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विश्वंशले लगानीकर्ताको मनोबल गिरायो। तसर्थ, तँग्रिँदै गएको अर्थतन्त्र फेरि सुस्त परेको छ।’
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार













प्रतिक्रिया