काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेका उपसभापति शर्माले पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीभित्रका सबै नेताहरूले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै कांग्रेसलाई एक ढिक्का बनाएर चुनावमा जाने विश्वास व्यक्त गरे ।
उनले पार्टीमा विधि र प्रक्रियाको स्थापनाका लागि लामो समयदेखि संघर्ष गरेका अनुभवी तथा अग्रज नेताहरू रहेको उल्लेख गर्दै निर्वाचन आयोगले विधिपूर्वक गरेको निर्णयलाई सबैले आत्मसात गर्ने धारणा राखे ।
‘विधि स्थापनाका लागि लामो संघर्ष गर्नुभएका हाम्रा श्रद्धेय नेताहरू विश्वप्रकाश शर्मा र गगन थापाको उमेरजत्तिकै योगदान गरिसक्नुभएको छ। त्यस्ता नेताहरूले निर्वाचन आयोगले विधिपूर्वक गरेको निर्णयलाई अवश्य स्वीकार गर्नुहुन्छ। हामी एकताबद्ध भएर निर्वाचनतर्फ अघि बढ्छौं,’ उनले भने ।
उपसभापति शर्माले निर्वाचन मात्र नभई ‘नवीन कांग्रेस’मार्फत ‘नवीन समाज’ निर्माण गर्ने लक्ष्यमा पार्टी सफल हुने विश्वाससमेत व्यक्त गरे ।
‘हामी निर्वाचनतर्फ मात्रै होइन, नवीन कांग्रेसमार्फत नवीन समाज निर्माण गर्ने अभियानमा पनि सफल हुन्छौं,’ उनले जोड दिए ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया