बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेअनुसार, कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको जीत वा हार होइन, विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ ।
बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा उनीबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
कांग्रेसले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ । बैठकले पार्टी मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा गर्ने र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन सबै तहका समिति तथा भ्रातृ संस्थाहरूलाई आह्वान गरेको छ । यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’को रूपमा लिनु पर्ने भन्दै विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन आग्रह गरिएको छ ।
निर्वाचन आयोगले शुक्रबार दोस्रो विशेष महाधिवेशनको निर्णयलाई वैधानिकता दिएको यो बैठकले परिवर्तनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू –
१ निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३ . विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४ . यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५, नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६ . यो नयाँ अध्याय हो रुपान्तरणको, एकताको, विजयको ।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया