काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहले झापामा चुनाव जित्ने हल्ला केवल दिवास्वप्न मात्र भएको टिप्पणी गरेका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभावका कारण बालेनले बस्नका लागि कोठासमेत नपाएको दाबी गरे।

advertisement

नेता बस्नेतले बालेन शाहको टोली झापा पुग्दा त्यहाँका स्थानीयले उनलाई अस्वीकार गरेको जिकिर गरे। एमाले अध्यक्ष ओलीले ४५ वर्षदेखि रगत पसिना बगाएर बनाएको झापामा बालेनको कुनै स्थान नभएको उनको भनाइ छ।

‘झापाको माटो-माटो र घर–घरले केपी ओलीलाई अभिभावक मान्छ,’ बस्नेतले भने, ‘बालेनले झापामा पार्टी कार्यालय राख्छु र भाडामा बस्छु भनेर कोठा खोज्दा घरधनीले घर पनि दिएनन्। जसले बासको लागि एउटा कोठा पाउँदैन, उसले केपी ओलीको गढ भत्काउँछु भन्नु हास्यास्पद हो। बालेनसँग न त कुनै संगठन छ, न त झापाका जनतासँग कुनै पुरानो सम्बन्ध छ।’

बस्नेतले पर्यटक शैलीमा चुनाव जित्न नसकिने बताए। उनले भने, ‘न संगठन छ, न त्यहाँ कहिल्यै गएको छ। अनि झुल्लुक्क एकदिन झुल्केको भरमा बालेनले झापा जित्छन् ?’

बस्नेतले केपी ओलीले झापाका जनताको सुखदुःखमा साथ दिएको, बालबच्चा पढाइदिएको र विकास निर्माणको लहर ल्याएको हुनाले त्यहाँका जनताले बालेनलाई ‘रिजेक्ट’ गरिसकेको दाबी गरे।

काठमाडौंमा सुकुम्बासी र गरिबमाथि डोजर चलाएर ‘दानव’ को रूप देखाएको आरोप लगाउँदै बस्नेतले बालेनको लोकप्रियता ओरालो लागेको बताए।

‘बालेनजी पत्तासाफ भइसक्नुभयो,’ उनले थपे, ‘अहिले उहाँ जहाँबाट उठे पनि जित्ने अवस्था छैन। झापा वा भक्तपुर आउनु पर्दैन, आँट छ भने आफ्नै गृहजिल्ला महोत्तरी जानुस्।’

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com