काठमाडौं । नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी स्पष्ट निर्देशन जारी गरेको छ। पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले मातहतका सबै पार्टी संरचना र कार्यकर्तालाई लक्षित गर्दै पाँच बुँदे परिपत्र जारी गरेका हुन्।
परिपत्रमार्फत कांग्रेसले निर्वाचन आचारसंहिता तथा राष्ट्रिय प्रतीकको मर्यादा पालना गर्न विशेष ध्यान दिन आग्रह गरेको छ। चुनावी प्रचारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग सीमित र सम्मानजनक हुनुपर्ने उल्लेख गर्दै पार्टीले स्पष्ट नियम तोकेको छ।
परिपत्रमा उल्लेख मुख्य बुँदाहरू यसप्रकार छन्—
१) निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार चुनावी प्रचार–प्रसारका क्रममा अधिकतम १० वटासम्म मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने।
२) राष्ट्रिय झण्डा सधैँ व्यक्तिको शिरभन्दा माथि रहने गरी सम्मानपूर्वक फहराउनुपर्ने, झण्डा झुकाउने अभ्यास मृत्युपछिको शोकमा मात्रै गरिने परम्परा रहेको तथ्यलाई ध्यानमा राख्नुपर्ने।
३) उम्मेदवार वा प्रचारक कसैको पनि शरीरमा राष्ट्रिय झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता, राष्ट्रिय सम्मान र संस्कारका दृष्टिले अनुचित हुने भएकाले यस्तो कार्य पूर्ण रूपमा निषेध गरिएको।
४) राष्ट्रिय झण्डालाई पाखुरा, कम्मर वा घाँटीमा ज्याकेट वा मफलरजस्तो बनाएर बेर्ने कार्य झण्डाको अपमान हुने भएकाले यस्तो गतिविधि गर्न वा गर्न दिन नहुने।
५) कार्यक्रम स्थल, प्रचार कार्यालय वा कुनै पनि सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा तथा चुनाव चिह्नभन्दा माथि राखेर फहराउनुपर्ने।
नेपाली कांग्रेसले राष्ट्रिय झण्डा देशको सर्वोच्च प्रतीक भएकाले यसको प्रयोगमा संवेदनशीलता, मर्यादा र जिम्मेवारी आवश्यक हुने भन्दै सबै तहका कार्यकर्ता र उम्मेदवारलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया