काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सर्लाही–४ मा उम्मेदवारी दिएका बताएका छन्।
उम्मेदवारी मनोनयन दर्ता गरेको छ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशसँगको सम्बन्ध केवल औपचारिक नभएर गहिरो हुनुपर्ने बताएका छन्।
‘मधेशको प्रतिनिधित्व गर्दै त्यहाँका वास्तविक मुद्दाहरू बुझ्दा प्रकारान्तरले नेपालको समग्र समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राखेको छु,’ उनले भने।
पहाडबाट झरेको आफ्नो परिवार र काठमाडौंको राजनीतिक पृष्ठभूमि भएकोले मधेशसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न र मधेशका कुरा काठमाडौंमा, काठमाडौंका कुरा मधेशमा पुर्याउन आफू उम्मेदवार बनेको उनले बताए।
थापाले काठमाडौं–४ का मतदाताप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै भने, ‘एउटा परिवारजस्तो माया मैले यो क्षेत्रमा सधैं पाएँ। जीवनका महत्वपूर्ण चरणहरू यहीँभित्र बिताएँ।’
सभापति थापाले निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्ने सल्लाह धेरैले दिएको भए पनि उनले त्यसमा नजाने निर्णय गरेको बताए। साथै, उत्तेजनात्मक राजनीति र अधिकारको अनियमित प्रयोगमाथि भरोसा नगर्ने भन्दै, सबैको बीचमा एकता र सहकार्य कायम गर्न आवश्यक रहेको बताएका छन्।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया