एजेन्सी । गुगलले आफ्नो लोकप्रिय इमेल सेवा जिमेलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू थप गरेको छ। झण्डै दुई वर्षअघि सर्च इन्जिनमा एआई ल्याएको गुगलले अब प्रयोगकर्ताको इनबक्स व्यवस्थापन र इमेल लेख्ने प्रक्रियालाई अझ छिटो र सहज बनाउने उद्देश्यसहित ‘जेनेरेटिभ एआई’ टुल्स सार्वजनिक गरेको हो।

नयाँ सुविधाअन्तर्गत अब प्रयोगकर्ताले इनबक्समा पुराना इमेल खोज्न केवल किवर्ड टाइप गर्नुपर्ने छैन। सिधै प्रश्न सोधेर खोज्न सकिनेछ। उदाहरणका लागि, ‘मैले गएको महिना भेटेको जब रिक्रुटरको नाम के हो?’ जस्ता प्रश्नको उत्तर एआईले इमेलबाटै निकालेर दिनेछ।

advertisement

यसैगरी, गुगलले परीक्षण गरिरहेको नयाँ एआई इनबक्स फिचरले इमेलमा भएका कुराकानीका आधारमा प्रयोगकर्ताका लागि गर्नुपर्ने कामहरूको सूची (टु–डु लिस्ट) स्वतः तयार पारिदिनेछ। साथै इमेलको भाषा सुधार्ने ‘प्रूफरिडर’ र स्वचालित जवाफ तयार पार्ने ‘रेस्पोन्स जेनेरेटर’ फिचर पनि थपिएका छन्।

निःशुल्क र सशुल्क सुविधा

गुगलले यसअघि सशुल्क रहेका केही एआई फिचरहरू हाल निःशुल्क उपलब्ध गराएको छ। निःशुल्क फिचरहरूमा प्रयोगकर्ताको लेखनशैलीअनुसार जवाफ सुझाउने ‘सजेस्टेड रिप्लाई’, लामो इमेल संवादको सारांश देखाउने ‘एआई ओभरभ्यु’ र ‘हेल्प मी राइट’ बटन समावेश छन्।
‘हेल्प मी राइट’ प्रयोग गरेर प्रयोगकर्ताले “बिजुलीको बिल किन धेरै आयो भनेर सोध्ने इमेल लेखिदेऊ” जस्ता निर्देशन दिएमा एआईले तुरुन्तै ड्राफ्ट तयार पारिदिन्छ।

अर्कोतर्फ, मासिक २० डलर शुल्क तिर्ने प्रयोगकर्ताका लागि उन्नत ‘एआई ओभरभ्यु फर सर्च’ सेवा उपलब्ध गराइएको छ। यसले इनबक्समा रहेका हजारौँ इमेलबाट प्रयोगकर्ताको प्रश्नअनुसार सटीक जानकारी खोजेर दिनेछ। उदाहरणका लागि, ‘गत वर्ष मेरो घर मर्मत गर्ने प्लम्बरको नाम के हो?’ जस्ता प्रश्नको उत्तर यसले सिधै निकालेर दिन सक्छ।

गोपनीयतामा उठेका प्रश्न

यी सबै सुविधाहरू प्रयोग गर्न गुगलको एआई सहायक ‘जेमिनाई’ लाई प्रयोगकर्ताको सम्पूर्ण इनबक्समा पहुँच आवश्यक पर्ने भएकाले गोपनीयताबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

तर गुगलले भने एआईले इमेल विश्लेषण गरे पनि कम्पनीका कर्मचारीहरूले प्रयोगकर्ताको व्यक्तिगत इमेल नपढ्ने दाबी गर्दै गोपनीयता सुरक्षित रहने जनाएको छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com