वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। उनले क्यानाडाले जर्जियास्थित गल्फस्ट्रीम एयरोस्पेसका जेट विमान प्रमाणिकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताएका हुन्।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानाडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने अमेरिकामा बेचिने सबै क्यानाडाली विमानमा उच्च कर लगाइने उल्लेख गरेका छन्। साथै, उनले बोम्बार्डियरका ग्लोबल एक्सप्रेस व्यापारिक जेटहरूको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी पनि गरेका छन्। उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार हाल अमेरिकामा दर्ता भएर सञ्चालनमा रहेका करिब १५० ग्लोबल एक्सप्रेस विमान छन्।
बोम्बार्डियर र गल्फस्ट्रीम व्यापारिक जेट बजारका मुख्य प्रतिस्पर्धी हुन्। बोम्बार्डियरले विज्ञप्ति जारी गर्दै ट्रम्पको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको र क्यानाडा सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। कम्पनीले आफ्ना सबै विमान अमेरिकी सङ्घीय उड्डयन प्रशासनका मापदण्डअनुसार प्रमाणित रहेको र अमेरिकामा सञ्चालन विस्तार भइरहेको पनि स्पष्ट पारेको छ।
क्यानाडा सरकारले अहिलेसम्म यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन। तर म्याकगिल विश्वविद्यालयका उड्डयन विज्ञ जोन ग्रेडेकले प्रमाणीकरण सुरक्षा सम्बन्धी विषय भएको र व्यापारिक कारणले प्रमाणपत्र रद्द गर्नु अभूतपूर्व कदम हुने बताएका छन्। उनका अनुसार यसले व्यापार युद्धको सन्दर्भमा चरम दबाबको संकेत दिन सक्छ।
यसअघि सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनको समयमा अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदानको आरोप लगाउँदै शुल्क लगाएको थियो। तर पछि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानाडाली कम्पनीले अमेरिकी उद्योगलाई क्षति नपुर्याएको ठहर गरेको थियो।
विश्लेषकहरूका अनुसार यदि अमेरिकी बजार बोम्बार्डियरका लागि बन्द भयो भने क्युबेकस्थित कम्पनीलाई ठूलो आर्थिक झट्का पुग्नेछ। यसले क्यानाडाका अन्य विमान निर्माता तथा क्यानाडामा उत्पादन हुने एयरबस परियोजनामा समेत प्रभाव पार्ने सम्भावना छ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार












प्रतिक्रिया