काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा संगठन, उद्देश्य र विचारविनाका व्यक्तिहरू आफूविरुद्ध सक्रिय भएको टिप्पणी गरेका छन्।
शनिबार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, मेरै ठाउँमा पनि केही ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएका छन्।
उनले संगठन र स्पष्ट विचार नभएकाहरूलाई कटाक्ष गर्दै भने, अण्डा दुई प्रकारका हुन्छन्—एक बतासे र अर्को साँचो। बतासे अण्डाबाट कहिल्यै चल्ला निस्किँदैन। अहिले बतासे अण्डाको खेती भइरहेको छ। यिनीसँग न संगठन छ, न उद्देश्य, न विचार। भोलि कहाँ जाने भन्ने पनि थाहा छैन।
अध्यक्ष ओलीले आगजनी, तोडफोड र लुटपाटलाई क्रान्तिका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति पनि आलोचना गरे। आगो बाल्ने, देश बिगार्ने, भड्काउने, तोडफोड र लुटपाट गर्ने कामलाई क्रान्ति भनेर महिमा गाइएको छ,” उनले भने, “यी सबै आकासे खेती हुन्। यस्ता गतिविधि गर्नेहरू जनतासम्म पुगेका छैनन्।
उनले सामाजिक सञ्जाल र मोबाइल प्रविधिको दुरुपयोगमार्फत देशमा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन कार्यकर्तालाई आग्रहसमेत गरे।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार













प्रतिक्रिया