काठमाडौँ । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अनुगमनका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत भ्रमण गर्नुभएको छ।
सो अनुगमनमा अर्थमन्त्री खनालले प्रमुख जिल्ला अधिकारी र जिल्लाका चारवटै सुरक्षा प्रमुखसँग भेट गरी निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, र आचारसंहिता पालनाको अवस्था बारे जानकारी लिएका छन्।
बुधबारको अनुगमनमा कास्की जिल्लाकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको बताइन्। कास्कीका ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकृत गरिएको छ। अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा पनि भ्रमण गरी मुख्य निर्वाचन अधिकृत हिमलाल वेल्वासे, १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का, २ नं निर्वाचन क्षेत्रका अधिकृत सीता रेग्मी र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालसँग हालसम्मको निर्वाचन तयारीको विस्तृत जानकारी प्राप्त गर्नुभयो।
पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेका जानकारी गराए। म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले पनि आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका १५ मतदान केन्द्र अति संवेदनशील रहेको बताउनुभयो।
तीनवटै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रहेको, स्थानीय तहमा राजनीतिक दलहरू बीच स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण बनेको र निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा भयरहित हुन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै, उहाँले यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको पनि स्पष्ट गर्नुभयो।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया