काठमाडौं। यस अंग्रेजी वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ र विश्वका धेरै भागहरूमा देखिनेछ।
यो ग्रहण पूर्ण ग्रहण नहुने र औंठी जस्तै देखिने विशेषताका कारण फरक छ। यसलाई ‘वलयाकार सूर्यग्रहण’ भनिन्छ, जसमा सूर्यको लगभग ९६ प्रतिशत भाग चन्द्रमाले ढाक्नेछ।
वलयाकार सूर्यग्रहण तब लाग्छ जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तर चन्द्रमा सूर्यभन्दा सानो भएको कारण सूर्य पूर्ण रूपमा ढाकिँदैन।
नेपाली समय अनुसार मंगलबार दिउँसो ३:४१ बजे सूर्यग्रहण सुरु हुनेछ र साँझ ८:१२ बजेसम्म लगभग साढे चार घण्टासम्म रहनेछ।
यद्यपि, नेपालमा यो ग्रहण देखिने छैन। तर दक्षिण अफ्रिका, अन्टार्कटिका र दक्षिण अमेरिकाका केही भागहरूमा देखिनेछ।
साथै जिम्बाब्वे, मौरिसस, मोजाम्बिक, तान्जानिया, नामिबिया, चिली र अर्जेन्टिनामा पनि यो ग्रहण देखिने जानकारी छ।
ग्रहणको आंशिक भाग हिन्द महासागरको केही भागमा पनि देखिनेछ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया