काठमाडौं । नेकपा एकीकृत समावाजवादी पार्टीले हरेक घरपरिवारलाई मासिक १० हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराउने घोषणा गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा ‘एक घर एक धारा, स्वच्छ खानेपानी हाम्रो अभिभारा’ भन्ने नाराका साथ हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने उल्लेख छ ।
घोषणापत्रले भौतिक पूर्वाधारको एकीकृत योजना नबनाउने, प्राथमिकता निर्धारण नगर्ने र एउटै आयोजनाका लागि वर्षेनी नाम मात्रको बजेट विनियोजन गर्ने, सडक कालो पत्रे गर्ने पुनः अन्य परियोजनका लागि भत्काउने, सडक विस्तारका लागि पटक–पटक भवन तथा पर्खाल भत्काउने जस्ता प्रवृत्तिले सीमित स्रोत–साधनको पनि व्यापक दुरूपयोग भइरहेको निष्कर्ष निकालेको छ । यस्तो अस्तव्यस्तताको अन्त्य गर्दै एकीकृत तथा दीर्घकालिन योजना निर्णाण, कार्यान्वयन र अनुगमन प्रर्णाली विकास गर्ने एकीकृत समाजवादीको प्रतिबद्धता छ ।
विकास निर्माणका क्षेत्रमा भइरहेको अस्वस्थ्य प्रतिस्पर्धा र मिलोमतो ठेक्का लिन–दिने कार्यलाई कानुनमार्फत नियन्त्रण गर्ने, निर्माण व्यवसायीले कामको ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने र गुणस्तरीय कार्य नगर्नेजस्ता प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्ने विषय घोषणापत्रमा उल्लेख छ ।
प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया