एजेन्सी। इरान र इजरायल (र अमेरिकाको संयुक्त) बीचको सिधा सैन्य भिडन्तको ताप छिमेकी खाडी मुलुकहरूमा पनि फैलिन थालेको छ । पछिल्ला केही घण्टामा बहराइन र कतारमा युद्धसँग सम्बन्धित घटनाहरू भएका छन् ।
बहराइनमा शक्तिशाली विस्फोटहरू भएपछि गृह मन्त्रालयले तत्काल आपत्कालीन चेतावनी जारी गरेको छ । मन्त्रालयले नागरिकहरूलाई नजिकैको सुरक्षित स्थानमा जान आग्रह गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । विस्फोटका कारण भएको क्षति तथा हताहतबारे अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक भएको छैन । स्थानीय सञ्चारमाध्यमहरूले विभिन्न स्थानमा धुवाँको मुस्लो र आगलागी देखिएको रिपोर्ट गरेका छन् । यो घटनालाई इरानको जवाफी कारबाही वा इजरायली/अमेरिकी मिसाइलको प्रभावका रूपमा हेरिएको छ ।
यसैबीच, कतारको रक्षा मन्त्रालयले आफ्नो आकाशमा प्रवेश गरेको एक इरानी मिसाइललाई अमेरिकी निर्मित ‘प्याट्रियट’ एयर डिफेन्स प्रणालीमार्फत सफलतापूर्वक बीचमै ध्वस्त पारेको जनाएको छ । मन्त्रालयले यो कारबाहीले कतारको सार्वभौमिकता र सुरक्षालाई जोगाएको बताएको छ । कतारले यस घटनालाई गम्भीर रूपमा लिएको र थप सतर्कता अपनाइएको उल्लेख गरेको छ ।
इरानको गृह मन्त्रालयले देशभरका विभिन्न सहरहरूमा भएको आक्रमणपछि नागरिकहरूलाई शान्त रहन अपिल गरेको छ । तास्निम समाचार एजेन्सीका अनुसार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अपराधी शत्रुले पुनः एकपटक सबै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै र वार्ता चलिरहेकै समयमा हाम्रो प्यारो मातृभूमिमाथि आक्रमण गरेको छ ।”
मन्त्रालयले देशभरका गभर्नरहरूलाई उच्च सतर्कतामा रहन, जनताको आकस्मिक आवश्यकता पूरा गर्न सबै सरकारी सुविधा परिचालन गर्न तथा नागरिकहरूलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ । इरानले आफ्नो जवाफी कारबाहीको तयारी भइरहेको र यो ‘ध्वंसात्मक’ हुने चेतावनी दिइसकेको छ ।
यो घटनाले खाडी क्षेत्रमा तनाव चरममा पु¥याएको छ । साउदी अरब, युएई, ओमान लगायत अन्य खाडी मुलुकहरूले पनि आफ्नो हवाई रक्षा प्रणालीलाई उच्च सतर्कतामा राखेका छन् । अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम तथा संयमको अपिल गरिरहेको छ भने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।
स्थिति अत्यन्त संवेदनशील बनेको छ र इरानको ठूलो जवाफी हमला भएमा खाडी क्षेत्रसहित विश्वव्यापी प्रभाव पर्न सक्ने विश्लेषकहरू बताउँछन् । तेलको मूल्यमा पनि तीव्र उतारचढाव देखिएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया