तेहरान/तेल अभिभ। इरान र इजरायल (र अमेरिकाको संयुक्त) बीचको युद्धले अब नागरिक क्षेत्रलाई पनि प्रत्यक्ष चपेटामा पारेको छ । इजरायलको हवाई आक्रमणमा इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा परी ५ जना विद्यार्थी (बालिका) को मृत्यु भएको छ । इरानी सरकारी समाचार एजेन्सी इरनाका अनुसार निर्दोष बालिकाहरू पढिरहेको विद्यालयलाई निशाना बनाइएपछि इरानभर आक्रोश चुलिएको छ ।
यसैबीच इरानले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार गरेको छ । तेल अभिभसहित इजरायलका विभिन्न सहरमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । इजरायली सेनाले इरानबाट ठूलो संख्यामा मिसाइल प्रहार भएको पुष्टि गर्दै देशभर चेतावनी साइरन बजाएको छ । सेनाले आफ्ना वायुसेनाका विमानहरूले ती मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयास गरिरहेको बताए पनि सुरक्षा पूर्ण रूपमा अभेद्य नरहेको स्वीकार गरेको छ । इजरायलले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन तथा ‘होम फ्रन्ट कमान्ड’ को निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
कतारको राजधानी दोहामा पनि दोस्रो चरणको आक्रमणका क्रममा नयाँ विस्फोटहरू सुनिएका छन् । कतारको रक्षा मन्त्रालयले आफ्नो भूमिमा लक्षित सबै मिसाइलहरूलाई प्याट्रियट प्रतिरक्षा प्रणालीमार्फत खसालेको दाबी गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले इरानी ब्यालिस्टिक मिसाइल आक्रमणको कडा निन्दा गर्दै यसलाई राष्ट्रिय सार्वभौमसत्ताको घोर उल्लंघन तथा क्षेत्रीय स्थिरतामाथिको गम्भीर प्रहार भनेको छ । कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार यस आक्रमणको जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ ।
साउदी अरबले पनि संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कतार, जोर्डन र कुवेतमाथि इरानले गरेको आक्रमणको कडा निन्दा गरेको छ । साउदीले राज्यको सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनले भयावह परिणाम निम्त्याउने चेतावनी दिएको छ ।
यो युद्धले मध्यपूर्वका धेरै मुलुकहरूलाई प्रत्यक्ष युद्धको मैदानमा परिणत गरेको छ । एकातिर इरानले आफ्ना विद्यालय तथा नागरिक क्षेत्रमा भएको क्षतिको बदला लिन मिसाइल वर्षा गरिरहेको छ भने अर्कोतिर इजरायल र अमेरिकाले इरानको सैन्य क्षमता ध्वस्त पार्ने भन्दै आक्रमण तीव्र पारेका छन् । खाडी मुलुकहरूले आफ्नो सुरक्षाका लागि प्याट्रियट जस्ता रक्षा प्रणाली सक्रिय पारेका छन् । पूरै क्षेत्रको आकाश मिसाइल र विस्फोटको आवाजले गुञ्जिरहेको छ ।
खाडी क्षेत्रमा बसोबास गर्ने लाखौं नेपालीहरू यस युद्धको प्रत्यक्ष जोखिममा परेका छन् । स्थिति अत्यन्त तनावपूर्ण बनेको छ र थप ठूलो जवाफी हमलाको सम्भावनाले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया