तेहरान। इरानको दक्षिणी सहर मिनाबस्थित शाजाबा तैयबा छात्रा विद्यालयमा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनामा अधिकांश पीडित निर्दोष बालिका विद्यार्थीहरू रहेका छन् ।
इरानी मिडियाका अनुसार आक्रमण विद्यालय परिसरमा केन्द्रित थियो । सीएनएनले घटनास्थलबाट प्राप्त भिडियोको स्थान पहिचान पुष्टि गरेको छ । उक्त विद्यालय एक इरानी सैन्य अड्डाबाट करिब २०० फिटको दूरीमा रहेको थियो । उपग्रह तस्बिरहरूका अनुसार विद्यालय पहिले सैन्य अड्डाको भागजस्तै देखिए पनि कम्तीमा सन् २०१६ देखि दुवै स्थल छुट्टाछुट्टै थिए ।
घटनापछि उद्धारकर्मी तथा स्थानीय बासिन्दाले भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी राखेका छन् । भग्नावशेषमा थप पीडित फेला पर्न सक्ने भएकाले मृतक सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।
यो आक्रमणले इरानमा ठूलो आक्रोश पैदा गरेको छ । इरानी अधिकारीहरूले विद्यालय तथा नागरिक क्षेत्रलाई निशाना बनाइएको भन्दै यसलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन् । यस घटनाले मध्यपूर्वको तनाव थप चर्किएको छ । इरानले जवाफी हमला तीव्र पारेको छ भने खाडी क्षेत्रका मुलुकहरूमा पनि सुरक्षा सतर्कता उच्च छ ।
खाडी मुलुकहरूमा कार्यरत लाखौं नेपाली श्रमिकहरू पनि यो युद्धको प्रत्यक्ष जोखिममा परेका छन् । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासहरूले नेपाली समुदायसँग सम्पर्क बढाएर सुरक्षा जानकारी प्रवाह गरिरहेका छन् ।
यो घटनाले अन्तर्राष्ट्रिय समुदायमा ठूलो चिन्ता पैदा गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया