काठमाडौं। टी–२० विश्वकपमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टोलीका प्रत्येक खेलाडीमाथि ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाउने कडा निर्णय गरेको छ । ‘द एक्सप्रेस ट्रिब्यून’ का अनुसार यो जरिवाना विशेषगरी भारतविरुद्धको खेलमा हार बेहोरेपछि लगाइएको हो । पीसीबीले स्पष्ट पारेको छ, “राम्रो प्रदर्शनमा पुरस्कार मिल्छ भने खराब प्रदर्शनमा सजाय पनि हुन्छ ।”

पीसीबीले अबदेखि खेलाडीहरूले आर्थिक लाभ राम्रो प्रदर्शनका आधारमा मात्रै पाउने व्यवस्था गरेको छ । पाकिस्तानी समर्थक मात्र होइन, बोर्डका अधिकारीहरू पनि टोलीको प्रदर्शनबाट असन्तुष्ट थिए । राष्ट्रिय टोलीका खेलाडीहरूलाई चार श्रेणीमा मासिक तलब दिइन्छ—ए श्रेणीमा करिब ६५ लाख, बी श्रेणीमा ४५ लाख, सी श्रेणीमा २० लाख र डी श्रेणीमा १२ लाख ५० हजार पाकिस्तानी रुपैयाँ । तर जुलाई २०२५ देखि जुन २०२६ सम्मको पछिल्लो सम्झौतामा पीसीबीले कुनै पनि खेलाडीलाई ए श्रेणीमा राखेको थिएन । यस अवस्थामा ५० लाख जरिवाना कटौती हुँदा बी श्रेणीका खेलाडीहरूको करिब एक महिनाको तलब बराबर कटौती हुनेछ भने सी र डी श्रेणीका खेलाडीहरूले दुईदेखि तीन महिनासम्मको तलब बराबर रकम जरिवानामा तिर्नुपर्नेछ ।

advertisement

पाकिस्तानले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध कठिन जित हात पारेको थियो । त्यसपछि अमेरिकालाई हरायो । तर भारतसँग ६१ रनले पराजित भयो । अन्तिम खेलमा नामिबियालाई हराएर पाकिस्तान सुपर–८ चरणमा पुगेको थियो । सुपर–८ चरणमा न्यूजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भयो भने इंग्ल्यान्डसँग नजिकको प्रतिस्पर्धामा हार बेहोर्नुपर्‍यो । सेमिफाइनलमा पुग्ने आशा अन्य खेलको नतिजामा निर्भर रह्यो । श्रीलंकामाथि झिनो जित निकाले पनि कमजोर रनरेटका कारण न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो र पाकिस्तान प्रतियोगिताबाट बाहिरियो ।

पीसीबीको यो कडा निर्णयले पाकिस्तानी क्रिकेटमा सुधारको सन्देश दिन खोजेको देखिन्छ । तर खेलाडीहरूको तलब कटौतीले उनीहरूको मनोबलमा असर पर्न सक्ने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com