काठमाडौं । रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास भएको पुष्टि भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको पेजमा बाह्य स्रोतबाट पटक–पटक ह्याकिङ प्रयास भएपछि सुरक्षालाई प्राथमिकता दिँदै मेटा (फेसबुक) ले हाल उक्त पेज अस्थायी रूपमा लक गरेको हो।
रास्वपा सचिवालयले मंगलबार जारी गरेको सूचनामा आज बिहानदेखि नै पेजमा अनधिकृत रूपमा पहुँच जमाउने प्रयास भइरहेको जानकारी दिएको छ। प्राविधिक जाँच र सुरक्षा प्रक्रिया जारी रहेकाले पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआएसम्म कुनै नयाँ सामग्री प्रकाशित नहुने स्पष्ट पारिएको छ।
सचिवालयका अनुसार फेसबुकको आवश्यक सुरक्षा प्रमाणीकरण प्रक्रिया पूरा गरी पेजलाई चाँडै पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
यसैबीच, पार्टीले आम नागरिक, समर्थक तथा शुभेच्छुकहरूलाई सतर्क रहन आग्रह गर्दै उक्त पेजबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक देखिएमा त्यसलाई आधिकारिक नमान्न अनुरोध गरेको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया