काठमाडौं। नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमालले मतदानको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशले एकाएक विवाद निम्त्याएको छ । सामान्यतया विवादबाट टाढा रहने हमालको यो अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसका समर्थकहरूमाझ रोष पैदा गरेको छ ।

हमालले हिजो साँझ जारी गरेको भिडियोमा यो पटकको निर्वाचन आफ्ना लागि ‘अत्यन्त चुनौतीपूर्ण र संवेदनशील’ रहेको बताएका थिए । उनले पुराना राजनीतिक दलहरूको छवि धमिलिएको र ‘नयाँ शक्ति भनाउँदाहरू’ ले राजनीतिक अपरिपक्वता र दूरदर्शिता देखाउन नसकेको टिप्पणी गरेका छन् ।

advertisement

उनले भनेका छन्, “पुराना र राजनीतिक हिसाबले परिपक्वता भएका राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्ति भनाउँदाहरूले राजनीतिक अपरिपक्वता र राजनीतिक दूरदर्शीता खासै छर्लङ्गसाथ नेपाली समुदायमा नआइसकेको परिस्थितिमा हामी भोली चुनावमा जाँदैछौं ।”

यो टिप्पणीमा पुराना दल भनेर नेपाली कांग्रेस, नेकपा एमाले लगायतलाई र ‘नयाँ शक्ति भनाउँदा’ भनेर रास्वपालाई इंगित गरेको स्पष्ट देखिन्छ । रास्वपा समर्थकहरूले हमालले आफ्नो पार्टी तथा बालेन शाहलाई ‘नयाँ शक्ति भनाउँदा’ भनेर होच्याएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनको भिडियोविरुद्ध तीव्र आलोचना भइरहेको छ ।

हमालले थप भनेका छन्, “भदौ २३ र २४ को घटनाले सिर्जना गरेको यो चुनाव हो । चुनावको पूर्वसन्ध्यासम्म आइपुग्दा पनि भदौ २३ मा भएको कहालीलाग्दो घटना र भदौ २४ मा भएको राष्ट्रिय सम्पदाको विध्वंसको जबाफदेहिता नेपाली जनसमुदायमाझ अझ छर्लङ्गसाथ आइसकेको छैन । अझ भन्ने हो भने भदौ २३ गते र भदौ २४ गतेको घटना आपसमा लिङ्क थिए त भन्ने कुराको स्पष्टीकरण पनि नेपाली जनतामाझ आइसकेको छैन ।”

राजेश हमाल लामो समयदेखि राजनीतिमा सक्रिय हुने चर्चामा छन् । जेनजी सरकार गठन हुँदा उनको नाम परराष्ट्रमन्त्रीको सम्भावित सूचीमा चर्चा भएको थियो । उनले प्रयास पनि गरेका थिए तर सफल भएनन् । बेलाबेला रास्वपा प्रवेश गर्ने चर्चा पनि चल्ने गर्छ । तर अहिले आएर उनको यो अभिव्यक्तिले रास्वपाप्रति उनको असन्तुष्टि स्पष्ट संकेत गरेको छ ।

यो अभिव्यक्तिले मतदानको पूर्वसन्ध्यामा राजनीतिक बहसलाई थप तीव्र बनाएको छ । रास्वपा समर्थकहरूले हमाललाई ‘पुरानो सोच’ बोकेको आरोप लगाउँदै आलोचना गरिरहेका छन् भने केहीले उनको टिप्पणीलाई ‘सन्तुलित र सत्य’ भनेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com