रौतहट । निर्वाचन आउन करिब २ साता बाँकी रहदासम्म पनि रौतहटका म्यादी प्रहरीले पोसाक पाएका छैनन्।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि खटिएका म्यादी प्रहरीले औपचारिक पोसाक नपाएका हुन्।

म्यादी प्रहरीको पोसाक नहुँदा उनीहरू सर्वसाधारण झै एउटा लौरो बोकेर सडकमा उभिइरहेको भेटिन्छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन सुरक्षाका लागि रौतहट जिल्लामा २ हजार ९ सय ३९ जना म्यादी प्रहरी खटाइएको छ।

शारीरिक तन्दुरुस्ती, लिखित, मौखिक लगायतका परीक्षा उतीर्ण गरेकाहरूलाई सामान्य तालिमपश्चात् असोज ३० गतेदेखि ड्युटीमा खटाइएको थियो।

गत स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीले भने पुरानै पोसाकमा ड्युटी गरिरहेका छन्। बाँकी म्यादी प्रहरी चप्पल लगाएर, पोसाकबिना नै चोक चौराहामा खटिएका छन्।

८-१० जनाको समूहमा हातमा लौरो बोकेर टोल, चोक, बजार घुम्दा म्यादी प्रहरी हो हैन झुक्किने गरेको स्थानीय बताउँछन्।

जिल्ला प्रहरी कार्यालयले छिटोभन्दा छिटो उनीहरूलाई पोसाकको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ।

पोसाक बिनानै ड्यूटी गर्नुपर्दा आफूहरूलाई पनि असहज हुने र धेरैले नपत्याउने गरेको एक म्यादी प्रहरीले बताए।

पटक पटक पोसाकका बारेमा प्रहरी अधिकारीहरूसँग माग राख्दा भोलि-भोलि भनेर टार्ने गरेको उनीहरूको गुनासो छ।

प्रहरी प्रमुख वीरबहादुर बुढा मगरले केही दिनभित्रै म्यादी प्रहरीलाई पोसाकको व्यवस्था गरिने बताए।

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com