विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विराटनगर शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिनाको बहुचर्चित प्रकरण कानुनी पथमा प्रवेश गरेको छ।

रकम हिनामिनामा संलग्न भएको आरोपमा निलम्बित कर्मचारी रोजी कँडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित उच्च पदस्थ अधिकारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेपछि प्रकरणले नयाँ मोड लिएको हो।

advertisement

कँडेलले सिईओ गणेशराज पोखरेल, कोशी प्रदेश प्रमुख दिवस सिंह ठकुरी तथा शाखा प्रबन्धक अभिषेक अग्रवाललाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकी छन्। उनका पिता राजन कँडेलका अनुसार, रोजीले कार्यगत त्रुटि स्वीकार गरी बराबरको रकम धितोस्वरूप घरजग्गा बैंकको नाममा रोक्का राखिसकेको अवस्थामा समेत बैंकले निरन्तर मानसिक दबाब दिएको आरोप लगाइएको छ।

कँडेल पक्षको दाबी अनुसार, प्रारम्भिक चरणमा बैंक र कर्मचारीबीच घटना गोप्य राख्ने तथा धितोमार्फत रकम असुल भएपछि प्रहरीमा नलगिने सहमति भएको थियो। तर, पछि बैंकले सहमति उल्लंघन गर्दै प्रहरी परिचालन गरी थुनाउने धम्की दिएको आरोप उनीहरूले लगाएका छन्। साथै, पूर्वतयार कागजातमा जबरजस्ती हस्ताक्षर गराइएको दाबी पनि गरिएको छ।

उता बैंक स्रोतका अनुसार, निक्षेपकर्ताको रकम दुरुपयोग गर्दै नक्कली ऋण खडा गरेर ठूलो रकम हिनामिना गरिएको प्रारम्भिक निष्कर्ष छ। सोही प्रकरणमा बैंकले रोजी कँडेललाई सेवाबाट बर्खास्त गरिसकेको छ भने शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य तथा कर्मचारी सोनिका राउत र विकास श्रेष्ठलाई निलम्बन गरिएको छ।

रकम फिर्ता प्रक्रियामा कँडेलले आफ्ना ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको मोरङको रंगेलीस्थित १ बिघा १२ कट्ठा ६ धुर जग्गा बैंकको नाममा रोक्का राखेको जनाइएको छ। कँडेल पक्षले उक्त जग्गाको मूल्य करिब ६ करोड रुपैयाँ बराबर रहेको र असारसम्म सम्पूर्ण रकम बुझाउने सहमति भएको दाबी गरेको छ।

तर, जग्गा रोक्का भइसकेपछि पनि बैंकले प्रहरीमा उजुरी दिएको भन्दै कँडेल पक्षले बैंकको नियतमाथि प्रश्न उठाएको छ। घटनामा संलग्न भनिएका अन्य दुई कर्मचारीले समेत जनही २० लाख रुपैयाँ बैंकमा बुझाइसकेको बताइएको छ।

उक्त प्रकरण हाल उच्च अदालत विराटनगरमा विचाराधीन रहेको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com