बुटवल । कपिलवस्तुको महाराजगन्ज–बर्गदवा क्षेत्रमा जारी अनिश्चितकालीन निषेधाज्ञाका बीच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शन नियन्त्रण गर्न पुगेको प्रहरीसँग झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ, जसबाट तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्य का अनुसार प्रदर्शनकारीहरूले प्रहरीलाई अवरोध गरेपछि झडप भएको र त्यसपछि बाध्य भएर हवाई फायर गरिएको हो।
घाइते तीन जनालाई उपचारका लागि बुटवल र भैरहवाका अस्पतालमा पठाइएको छ। अहिले अवस्था क्रमशः नियन्त्रणमा आउँदै गएको प्रहरीले जनाएको छ।
शनिबार मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको घटनापछि दुई समुदायबीच तनाव उत्पन्न भएको थियो। सोही कारण जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको हो।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) अनुसार भेला, सभा, जुलुस तथा अन्य गतिविधिमा रोक लगाउँदै दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा लागू रहने जनाएको छ।
निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। उक्त आदेश पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौनासम्म लागू गरिएको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया