काठमाडौं। इजरायल–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा मा गएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पश्चिम एशियामा चर्किएको द्वन्द्वले कच्चा तेलको मूल्य बढाएको र भारतीय आयल कर्पोरेशनबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्दा ५ अर्ब रुपैयाँ घाटा भएको हो। स्वचालित मूल्य प्रणालीअनुसार समयमै मूल्य समायोजन गर्न नसक्दा निगमलाई ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे घाटा अझ बढ्न सक्ने चेतावनी दिएका छन्। हाल निगमको मूल्य स्थिरीकरण कोषमा १९ अर्ब रुपैयाँ सञ्चित छ, तर यो घाटा धेरै दिन थेग्न नसक्ने अवस्था रहेको उनले बताए।
हाल पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम रहे पनि उपभोक्ताको हितलाई ध्यान दिँदै निगमले यी इन्धनको खुद्रा मूल्य यथावत् राखेको छ।
हवाई इन्धनको मूल्य बढ्यो निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन (एटीएफ) को मूल्य समायोजन गरेको छ। आन्तरिकतर्फ प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ पुर्याइएको छ (१२४ रुपैयाँले वृद्धि)।
अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ८१९ अमेरिकी डलर बढाएर १,७८५ डलर पुर्याइएको छ। पोखरा र भैरहवाका लागि पनि ब्रेक इभन प्वाइन्टमा मूल्य कायम गरिएको छ।
निगमले इन्धन आपूर्ति प्रणाली सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जनाएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे थप आर्थिक दबाब पर्न सक्ने बताउँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया